लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको चाबहिलस्थित सगरमाथा गेष्ट हाउसबाट ४६ ग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाबहिल बस्ने सुनसरी वराहक्षेत्र-७ का ३२ वर्षीय विशाल राई र सुनसरीकै कोशी गाउँपालिका-२ का २४ वर्षीय दयानन्द यादव छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बर कोठा तलासी गर्दा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेतको भेरीगंगास्थित छिन्चु बजारबाट ४ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगरसहित भारत बहराइज बाबागन्ज उत्तर प्रदेश बस्ने २९ वर्षीय कलिम सलमानीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जानकारी दिएको छ ।
बाँकेको नेपालगंजस्थित राँझाबाट १ सय ५ ग्राम ब्राउनसुगरसहित जानकी गाउँपालिकाका रफिक खान पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले भे.११ प ३६६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
कैलालीको धनगढीबाट ८ सय १० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रहरीले स्थानीय राधेश्याम चौधरी र उमेश रानालाई पक्राउ गरेको हो । यस्तै कैलालीकै लम्कीचुहाबाट १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित सुदीप खड्कालाई पक्राउ गरिएको छ ।
झापाको बिर्तामोडबाट ६ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५५ ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । दमकका राजा माझी, टेकबहादुर कुमाल र हर्कबहादुर कुमाललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाले पक्राउ गरेको हो ।
यसैगरी तनहुँको शुक्लागण्डकीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुलसहित स्थानीय राजकुमार सेनलाई पक्राउ परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।