सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति जुटाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको बैठकको सहमतिपछि सोमबारदेखि लगाइएको कर्फ्यू आज अपराह्न ३ः३० बजेदेखि हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त भएपछि कर्फ्यू हटाउने निर्णय गरिएको हो। “यहाँका दुई समुदायबीच सहमति भएको र शान्ति–सुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यू हटाइएको हो,” उनले भने, “अब जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गएको छ।”
बैठकले भविष्यमा कुनै पनि विरोध प्रदर्शन वा आन्दोलन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर ज्ञापनपत्र पेस गरेपछि मात्र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
धार्मिक, सामाजिक तथा सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न र आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने उद्देश्यले जिल्लास्थित राजनीतिक दल र विभिन्न धार्मिक समुदायका अगुवाहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
विद्यमान परिस्थितिलाई सहज बनाउन सबै पक्षले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रम नगर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।