माओवादी केन्द्रबाट प्रदेश सांसदमा निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरेका छन्।
रातो अक्षरमा लेखिएका ‘इन्कलाब’ पंक्तिहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्झाउँदै अन्सारीले माओवादी छाड्ने घोषणा गरेका हुन्। उनले प्रचण्डलाई पत्रमार्फत सम्बोधन गर्दै आफू अब माओवादी केन्द्रसँग नजोडिएको स्पष्ट पारेका छन्।
मधेस प्रदेशका सांसद अन्सारीले पत्रमा प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष भनेर उल्लेख गरेका छन्। प्रचण्डले माधव नेपाललगायतसँग मिलेर पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि अन्सारीले पार्टी छाड्ने निर्णय लिएको जनाइएको छ।
अन्सारीले आफ्नो पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको सपना बोकेर अन्ततः सत्ता र सुविधामा केन्द्रित भएकाहरू, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएका छन्। पार्टीको वर्तमान दिशाप्रति असन्तुष्टि जनाउँदै उनले यो निर्णय लिएको संकेत पत्रमार्फत दिएका छन्।
