नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्। नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।
नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि भूमिका खेल्न सभापति देउवालाई आग्रह गरेका थिए। विशेष महाधिवेशनबारे कांग्रेसभित्र मतभेद छ। यो मतभेद फुटसम्म पुग्न सक्छ भन्ने चर्चा भइरहेको छ।
सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।
आफूहरूसँगको कुराकानीमा सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउन भूमिका खेल्ने बताएको नेता बाबुराम भट्टराईले नेपालटेललाई जानकारी दिए।
‘विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत हुन आवश्यक रहेको हामीले कुरा राख्यौं,’ उनले भने, ‘पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा छ। सभापतिज्यूले एकताबद्ध राख्न भूमिका खेल्नुपर्छ।’
जबाफमा सभापति देउवाले पार्टी नफुट्ने र एकताबद्ध रहने कुरा गरेका थिए।
‘वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै उनले भने।
सभापति देउवाले पार्टीमा विभाजन हुन नदिने र आफूले सबैसँग कुराकानी गरेर मिलाउने कुरा गरेका थिए।