लघुवित्तमा नगद कारोबार सीमा घट्यो, ५ लाख माथि चेक अनिवार्य

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि नगद कारोबारसम्बन्धी नियम कडा बनाएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै नगद भुक्तानीको सीमा घटाएको हो ।

नयाँ निर्देशनअनुसार अब लघुवित्त वित्तीय संस्थाहरूले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक प्रयोग गर्नुपर्नेछ । यसअघि यस्तो व्यवस्था १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा लागू हुँदै आएको थियो ।



राष्ट्र बैंकले जारी गरेको निर्देशनमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगद कारोबारमा कडाइ गरिएको उल्लेख छ । निर्देशनमा भनिएको छ कि ५ लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी चेकमार्फत गर्दा वित्तीय पारदर्शिता बढ्ने र अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्था लागू भएसँगै लघुवित्त क्षेत्रमा हुने ठूलो नगद कारोबारमा निगरानी बढ्ने र वित्तीय अनुशासन मजबुत हुने राष्ट्र बैंकको विश्वास छ ।