अब शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने, एक जनाको १५ हजार

  • प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
  • नेपाल टेल संवाददाता

अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् ।



अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए ।

“सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ” उनले भने, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।