सुन-चाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन तोलाको २ लाख ७६ हजार नाघ्यो

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

सुनचाँदीको मूल्यले आज पनि हालसम्मकै महँगो रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४ हजार १ सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको थियो भने त्यसअघि गएको शुक्रबार पनि २ हजार १ सय रुपैयाँले वृद्धि भएको थियो। हिजो सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम थियो।



गएको बुधबार र बिहीबार लगातार दुई दिन घटेको सुनको मूल्य शुक्रबारदेखि भने निरन्तर उकालो लागिरहेको छ। पछिल्ला चार दिनमै सुनको मूल्य तोलामा १० हजार ८ सय रुपैयाँले बढिसकेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ, जुन अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।

हिजो मात्रै चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर ५ हजार १ सय ९५ रुपैयाँ पुगेको थियो। सुन र चाँदी दुवैको मूल्यमा लगातार आएको वृद्धिले बजारमा चासो र चर्चा बढाएको छ।