नेपालीहरूको मौलिक पर्व माघे सङ्क्रान्ति नजिकिँदै जाँदा काठमाडौँको मुख्य तरकारी बजार कालीमाटीमा तरुल र सखरखण्डको आयात अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पुसको अन्तिम सातादेखि यी कन्दमूलको आयात ग्राफ तीव्र रूपमा उकालो लागेको छ।
माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड र पिँडालु खाने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण पुस मसान्तमा तरुल पकाएर माघ १ गते खाने चलनले बजारमा माग अत्यधिक बढाएको हो। यही मागलाई धान्न धादिङ, नुवाकोट, सर्लाही, चितवन र नवलपरासी लगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल र सखरखण्ड काठमाडौँ भित्रिरहेका छन्।
साउनदेखि मङ्सिरसम्म तरुलको दैनिक औसत आयात १० देखि २० हजार किलोमा सीमित रहे पनि पुस २५ र २६ गतेपछि यो आकस्मिक रूपमा बढेर दैनिक १ लाख ५० हजार किलो पुगेको छ, जुन सामान्य समयको तुलनामा झण्डै १० गुणा बढी हो। सखरखण्डको आयातमा पनि यस्तै वृद्धि देखिएको छ। मङ्सिरसम्म दैनिक ५ देखि १० हजार किलो आउने सखरखण्ड पुस अन्तिम साता झण्डै ७० हजार किलो पुगेको छ, जसले चालू आर्थिक वर्षकै सबै रेकर्ड तोडेको छ।
आयातमा भारी वृद्धि भए पनि माग अत्यधिक रहेकाले मूल्य भने घटेको छैन। कालीमाटी बजारको पछिल्लो थोक मूल्य अनुसार घर तरुल प्रतिकेजी ८० देखि १०० रुपैयाँ, वन तरुल २०० देखि २५० रुपैयाँ, पन्जे र हात्तीपाइले तरुल ९० देखि १२० रुपैयाँ तथा सखरखण्ड ७० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ। खुद्रा बजारमा पुग्दा यी कन्दमूलको मूल्य प्रतिकेजी १५ देखि ३० रुपैयाँसम्म थपिन सक्ने समितिले जनाएको छ।
हाल कालीमाटी बजारमा घर तरुल, वन तरुल, मुढे तरुल, सिमल तरुल र सखरखण्डको बढी कारोबार भइरहेको छ। माघे सङ्क्रान्तिलाई लक्षित व्यापार तीव्र बन्दै गएपछि कालीमाटीमा चौबीसै घण्टा मालवाहक सवारी साधन भित्रिने क्रम जारी रहेको बजार समितिले जनाएको छ।