प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई मुखभरिको जवाफ फर्काउनु भएको छ । डा. भट्टराईको पछिल्लो अभिव्यक्तिप्रति लक्ष्यित गर्दै सल्लाहकार थापाले त्यसलाई ‘लाजको पसारो’ बताउनु भएको छ ।
सल्लाहकार थापाले भन्नुभएको छ, ‘डा. बाबुराम भट्टराईको मागबमोजिम प्रधानमन्त्री सच्चिनु÷सुध्रिनुपर्ने रे ? लेख्नुबोल्नुको पनि हद हुन्छ ? कमसेकम फुटेको शिशाको टुक्रामा आफ्नो अनुहार हेर्नू नि ।’ थापाले थप्नुभएको छ, ‘कांग्रेसको सहयोगमा गोरखामा कृपापूर्वक यिनले चुनाव जितेको जनताजनार्दनले भुलेका छन र ? अनि, यी १ सिटे अस्थिरताका गोटीसँग कस्तो व्यवहार गरिदिनुपर्ने हो प्रमले ? अझ हठ र अहंकार पो भयो रे !’ सल्लाहकार थापाले प्रश्न गर्नुभएको छ, ‘देशभक्तिलाई ‘भौगोलिक राष्ट्रवाद’को संज्ञा दिदै लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदको निर्णय र सार्वर्भौम संसदको ऐतिहासिक घोषणाको पनि विरोध ?’
सल्लाहकार थापाले जनयुद्धको घोषणा गर्नुअघि डा. बाबुराम भट्टराईको नेतृत्वमा तत्कालीन सरकारलाई बुझाइएको ४० सूत्रीय मागको स्मरण गर्दै भनेका छन्, ‘४० सूत्रीय मागपत्र पेश गर्दा नक्कली राष्ट्रवादी भइटोपलेका ‘फण्डिङ पिएचडी’ले यति नग्न दासता प्रदर्शन र दलाली त नगरे हुन्थ्यो नि ।’ सल्लाहकार थापाले अगाडि थप्नुभएको छ, ‘अझै चितुवासम्म हो कि भन्ने भ्रम दिएकोमा आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीले दिनुभएको दमदार मन्तव्यपछि झुसे बिरालोका रूपमा पो म्याउँ गरेको सुनियो । यसरी ‘जसको सीता खायो, उसकै गीता गायो ।’ लाजको पसारो ।’