आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।
टी–२० फर्म्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुँदैछ । यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। पछिल्लो भेट सन् २०१३ मा भएको थियो ।
टि-२० विश्वकप अन्तरगत आज हुने नेपालविरुद्धको खेलमा इटलीका कप्तान वेन म्याडसेन अनुपस्थित रहने भएका छन् । चोटका कारण उनले आजको खेल गुमाएका हुन् ।
स्कटल्यान्डविरुद्ध इटलीको पहिलो खेलका क्रममा म्याडसेन घाइते भएका थिए । म्याचको पहिलो चार ओभरभित्रै चोटग्रस्त भएपछि उनी मैदानबाट बाहिरिनु परेको थियो । नेपालविरुद्ध उनी खेल्न नसक्ने इटलीका कोच जोन डेविसनले बताएका छन् ।
म्याडसेनको स्थानमा ह्यारी मेनेटीले इटलीको कप्तानी गर्ने छन् । मेनेटीका दाजुभाइ नै इटलीको टिममा छन् । उनका भाइ बेन मेनेटीले स्कटल्यान्डविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान म्याडसेनको स्थानमा इटलीले मध्यक्रमका ब्याटर मार्कस क्याम्पोपियानोलाई स्थान दिनसक्ने बताइएको छ ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् । डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ ।
इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ।