आयोजक भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै साविक विजेता समेत रहेको भारत पुनः उपाधि नजिक पुगेको हो।
भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन जोड्यो। जाकोव वेथेलले शतकीय पारी खेल्दै टोलिलाई खेलमा राखिराखे।
४८ बल खेलेका उनले ८ चौका र ७ छक्काको मद्धतले १०५ रन जोडे। यस्तै, विल ज्याक्सले ३५, जोस बटलरले २५, जोफ्रा आर्चरले १९ तथा साम करनले १८ रन जोडे।
बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले दुई तथा अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले एक–एक विकेट लिए।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन जोड्यो।
सन्जु सामसनले ८९ रनको विष्फोटक पारी खेले। ४२ बल खेलेका उनले ८ चौका र ७ छक्का प्रहार गरे। यस्तै, शिवम दुबेले २५ बलमा ४३, इशान किशनले १८ बलमा ३९, हार्दिक पाण्ड्याले १२ बलमा २७ तथा तिलक बर्माले ७ बलमा २१ रन जोडे।
बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिद र विल ज्याक्सले दुई–दुई तथा जोफ्रा आर्चरले एक विकेट लिए।
भारतले अब उपाधिका लागि न्यूजिल्यान्डसँग खेल्नेछ।