रास्वपाका वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिएको बधाईको प्रत्युत्तरमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भारतले लगातार दुई पटक टी–२० विश्वकप जितेकोमा बधाई पनि दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएपछि त्यसको जवाफ दिँदै शाहले दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।
शाहले मोदीकै एक्स ह्यान्डलमा प्रत्युत्तर दिँदै लेखेका छन्,‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदीज्यु । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’
मोदीले हिजो रास्वपाका सभापति रवि लामिछाने र शाहलाई टेलिफोनमार्फत निर्वाचनमा सफलता पाएको भन्दै बधाई दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।