मानव तस्करका प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको छ ।
कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसेका १६ जना नेपालीहरुको उद्धार गरिएको हो ।
बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार भई गैर आवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको हो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको राजदूतावासले जनाएको छ ।
कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगी लगायत गैर कानुनी काममा लगाइएको र बिना भिषा वा भिषा अवधी भन्दा बढि समय बसिरहेको जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।
कम्बोडियामा माथि उल्लेखित अवस्थामा वसिरहनुभएका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर(आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु शिवराज पराजुलीश्री शिवराज पराजुली +855 12215578, श्री लालसिहं खडका +85593203666, श्री रामजी श्रीकुमार छेत्री +855963465788 लाई सम्पर्क गर्न अनुरोध छ ।
स्क्यामिङ्ग केन्द्रहरूमा काम लगाईएकाको राहदानी कम्पनीले राख्ने गरेको वा स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुदा राहदानी हराएको भनि धेरै जनाको समस्या सुनिएकोमा त्यस्तो अवस्थामा नेपाल फर्किनलाई उद्दार गर्न बिना शुल्क एक तर्फी यात्रा अनुमतिपत्र निजहरुले दिएको ठेगानामा पठाईदिने गरेको राजदुतावास बैंककले जनाएकाे छ ।
सो प्रक्रियाको विवरण https://th.nepalembassy.gov.np/pages/one-way-trip-permit-6/ मा राखिएको छ ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।