फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा दुईतिहाइ नजिकको नतिजा निकालेको छ । रास्वपाले कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी १८२ सिट जितेको छ । जुन दुईतिहाइ बहुमतको २ सिट मात्रै कम हो ।
अब देशको बागडोर कसरी अगाडि बढ्छ भन्नेमा आमचासो छ । पुराना र स्थापित भनिएका राजनीतिक शक्तिहरूलाई किनारा लगाउँदै उदाएको यो नयाँ शक्तिले बालेन्द्र शाह (बालेन) लाई निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो ।
अहिले देशैभरि एउटै जिज्ञासा छ- बालेनको क्याबिनेट कस्तो होला र यसले कसरी काम गर्ला ? काठमाडौँको सडकबाट सुरु भएको बालेन लहरले देशका हिमाल, पहाड र तराईलाई यसरी तरंगित बनायो कि त्यसको परिणाम स्वरूप रास्वपाले अप्रत्यासित सफलता हात पार्यो । बालेनकै लोकप्रियता र उनको कार्यशैलीमा विश्वास गरेर जनताले दिएको यो विशाल मतलाई न्याय गर्न अब बन्ने मन्त्रिमण्डल कस्तो हुनुपर्छ भन्नेमा रास्वपाभित्र र बाहिर निकै गम्भीरताका साथ हेरिएको छ ।
सामाजिक सञ्जालमा विभिन्न नामहरूको चर्चा र अड्कलबाजी भइरहे पनि बालेन र उनको सचिवालय भने निकै शान्त तरिकाले ठोस गृहकार्यमा जुटेको छ ।
‘स्पिरिट र स्पिड’ खोज्ने सारथी खोज्दै बालेन
बालेन शाहको कार्यशैलीलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी यस्तो टोली चाहन्छन्, जसको ‘स्पिरिट’ उनीसँग हुबहु मिलोस् । बालेनको सचिवालय र उनी निकट नवनिर्वाचित सांसदहरूका अनुसार प्रधानमन्त्रीका रूपमा बालेनले खोजेको पहिलो योग्यता नै ‘स्पिड’ हो । ‘क्याबिनेटलाई राजनीतिक भागबण्डाको अखडा बनाउन चाहनुहुन्न । उहाँले सिङ्गो क्याबिनेट एउटै लय र एउटै गतिमा हिँडोस् भन्ने मान्छे राख्ने तयारी गर्नुभएको छ,’ उनी निकट व्यक्ति भन्छन् ।
उनी निकट सांसदहरू विगतमा देखिएको जस्तो ‘यो मेरो मान्छे र त्यो तेरो मान्छे’ भन्ने दलीय भागबण्डाको रोगबाट यो नयाँ सरकारलाई मुक्त राख्न बालेन निकै सचेत देखिएको बताउँछन् । ‘टोली छनोट गर्दा कुनै पनि प्रकारको विवाद नआओस् र मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रमा पूर्ण स्वतन्त्रताका साथ नतिजामुखी काम गर्न सकुन् भन्ने छ, त्यही अनुसार क्याबिनेट आउँछ,’ उनी भन्छन् ।
मन्त्री विज्ञ सांसदबाटै
यद्यपि, बालेनको सचिवालयले बाहिरबाट विज्ञ ल्याएर मन्त्री बनाउने विषयमा अहिल्यै कुनै औपचारिक कुरा नभएको जनाएको छ । रास्वपाका तर्फबाट निर्वाचित भएका सांसदहरू आफैँमा विभिन्न क्षेत्रका विज्ञ भएकाले उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना बलियो रहेको बालेन सचिवालयले जनाएको छ ।
‘हाम्रा सांसदहरूमा डाक्टर, इन्जिनियर, अर्थशास्त्री, कानुनविद् र व्यवस्थापन क्षेत्रमा दखल राख्ने व्यक्तिहरूको बाहुल्यता छ । पार्टीभित्रकै जनशक्तिलाई कसरी सही मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा गहन छलफल हुन्छ । बाहिरको कुरा थाहा छैन,’ बालेन निकट सांसद भन्छन् । जुन मन्त्रीले जनतालाई देखिने गरी डेलिभरी दिन सक्छ, उसैलाई विभागीय जिम्मेवारी सुम्पिने तयारी बालेनले गरेका छन् ।
सर्ट लिस्ट तयार गरेर फाइनल गरिने
मन्त्रिमण्डल गठन प्रक्रियालाई व्यवस्थित बनाउन विशेष विधि अपनाइने बुझिएको छ । बालेन निकटहरूले सम्भावित मन्त्रीहरूको एउटा ‘सर्ट लिस्ट’ तयार गर्नेछन् । उक्त सूचीलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापतिहरू डा. स्वर्णिम वाग्ले, डीपी अर्याल लगायत शीर्ष नेताहरूसँगको समन्वयमा अन्तिम रूप दिइनेछ ।
‘निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची बुझाउने र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने प्रक्रिया बाँकी नै रहेकाले नामहरू आइसकेका छैनन् । तर सरकार गठन हुने बेला नै सार्वजनिक गर्ने तयारी छ,’ रास्वपाका एक सांसद भन्छन् ।
बालेनको सचिवालय सदस्यका अनुसार धेरैजसो नवनिर्वाचित सांसदहरू अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिन व्यस्त रहेकाले सबै काठमाडौँ आइपुगेपछि मात्रै निर्णय प्रक्रियाले तीव्रता पाउने देखिन्छ । ‘बाहिर हल्ला भएजस्तो अन्धाधुन्ध नियुक्तिभन्दा पनि एउटा पारदर्शी मापदण्डका आधारमा टोली घोषणा गर्ने तयारीमा नेतृत्व जुटेको छ,’ ती सदस्यले भने ।
क्याबिनेट मेम्बरलाई ‘टाइम कार्ड’
यसपटकको क्याबिनेटको सबैभन्दा रोचक र आधुनिक पक्ष भनेको ‘टाइम कार्ड’को अवधारणा सारिएको छ । बालेन शाहले काठमाडौँ महानगरपालिकामा जस्तै संघीय सरकारमा पनि समयसीमा सहितको कार्यसम्पादनको मोडेल ल्याउन खोजेको बुझिएको छ । स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूले शपथ ग्रहण गरेसँगै उनीहरूलाई एउटा निश्चित समयतालिका र कार्यभार सुम्पिनेछ । प्रत्येक मन्त्रीले आफ्नो मन्त्रालय सम्हालेको पहिलो १०० दिनभित्र के–के काम सम्पन्न गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गर्नुपर्नेछ । यदि तोकिएको समयमा अपेक्षित प्रगति हुन नसकेमा मन्त्रीहरूले जवाफदेही हुनुपर्ने कडा नियम बसाल्ने सोच बालेनको छ ।
जेनजीसहितको समावेशी क्याबिनेट
समावेशिता र युवा प्रतिनिधित्वको सवालमा पनि यो मन्त्रिपरिषद् गम्भीर हुने संकेत देखिएको छ । बालेनको क्याबिनेटमा कम्तीमा एकजना ‘जेनजी’ पुस्ताका मन्त्री बन्नेछन् । ‘नेपालको विविधतालाई प्रतिबिम्बित गर्न महिला, आदिवासी जनजाति, दलित र मधेसी समुदायको सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्व गराइनेछ,’ बालेन निकट सांसद भन्छन् ।
नवनिर्वाचित सांसदहरुले जनताको ठुलो अपेक्षा र विश्वासमा सरकार बन्दा पहिले चुनौती औंल्याएर जाने तयारी गरिरहेको बताए । ‘सरकारले गर्ने पहिलो निर्णय नै भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहमा सरलीकरण हुनसक्छ । जनताले सरकारी कार्यालयमा लाइन बस्नुनपर्ने र साना–साना कामका लागि पनि शक्ति केन्द्र धाउनु नपर्ने वातावरण निर्माण गर्नु नै यो सरकारको प्राथमिक एजेन्डा हुनेछ,’ रास्वपाका एक सांसद भन्छन् ।
बालेनले सानो र छरितो मन्त्रिमण्डल बनाउन खोजेको देखिन्छ । मन्त्रालयहरूको संख्या घटाउने वा गाभ्ने विषयमा पनि विज्ञहरूसँग कानुनी परामर्श भइरहेको बुझिएको छ ।