पहिलो ट्रान्सजेन्डर सांसद भूमिका श्रेष्ठको संसदमा बढेका पाइला

  • प्रकाशित मिति : २०८२ चैत्र ३, मंगलवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी ३७ वर्षीया भूमिका श्रेष्ठ केवल एउटा नाम मात्र होइनन्। उनी संघर्ष, पहिचान र आत्मस्वीकृतिको लामो यात्राबाट यहाँसम्म आइपुगेकी पात्र हुन्। अझ भनौँ, नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि संसदसम्मको एउटा प्रतीकात्मक ढोका खुलाउने व्यक्ति हुन्।

घरको कान्छो ‘छोरा’बाट सुरु भएको कथा



भूमिकाको जन्म २०४४ सालमा काठमाडौंमा भयो। बुवा कुमार श्रेष्ठ र आमा रुकुमाया श्रेष्ठको परिवारमा उनी जेठी दिदी र माइलो दाजुपछि जन्मिएका कान्छा सन्तान थिए। तर परिवारले पाएको त्यो सन्तानलाई उनीहरूले छोराका रूपमा हुर्काए। नाम राखियो—कैलाश श्रेष्ठ। स्कुलदेखि नागरिकता बनाउँदासम्म उनको पहिचान कैलाश नै रह्यो। ढाकाटोपी लगाएको, पुरुषकै तस्बिर भएको नागरिकता कार्ड। बाहिरबाट हेर्दा सबै ठीकठाक। तर भित्रभित्रै एउटा ठूलो द्वन्द्व चलिरहेको थियो।

शरीर पुरुष, आत्मा महिला

किशोरावस्थामा पुग्दै जाँदा कैलाशको शरीर पुरुषकै जस्तो विकास हुँदै गयो। आवाज पनि पुरुषकै जस्तो गहिरो। तर व्यवहार, हिँडाइ, बोलाइ, हाउभाउ—सबै महिलाजस्तै। कैलाश आफैँ पनि अलमलमा थिए— “म वास्तवमा को हुँ ?” त्यो प्रश्नको जवाफ उनलाई पछि मात्रै भेटियो।

नागरिकताको एउटा कार्डले दिएको पीडा

यौनिक तथा लैंगिक पहिचान समाजले बुझ्ने अवस्था नेपालमा त्यतिबेला निकै कमजोर थियो। कैलाशलाई जागिर खोज्दा समस्या हुन्थ्यो। कतै काम पायो भने नागरिकता देखाउने बेला समस्या सुरु हुन्थ्यो। अन्तर्वार्तामा सबै ठीक। तर नागरिकता हेरेपछि कुरा सकिन्थ्यो।

ब्लु डायमण्डबाट खुलेको पहिचान

समयसँगै उनी ब्लु डायमण्ड सोसाइटीसँग जोडिइन्। यो संस्था नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकारका लागि काम गर्ने अग्रणी संस्था हो। त्यहीँ पुगेपछि कैलाशले आफू जस्तै धेरै मानिसहरू भेटे। त्यसपछि उनलाई स्पष्ट भयो— उनी शरीरले पुरुष भए पनि आत्माले महिला हुन्। त्यसपछि सुरु भयो नयाँ यात्रा— कैलाशबाट भूमिकातर्फ।

आफूजस्तो देखिन ठूलो निर्णय

आफ्नो पहिचानलाई बाहिर देखिने स्वरूपसँग मिलाउन उनले कठिन निर्णय लिइन्। आजभन्दा करिब १५–१६ वर्षअघि उनी थाइल्याण्डको बैंकक पुगिन्। त्यहाँ करिब दुई लाख रुपैयाँ खर्च गरेर ब्रेस्ट इम्प्लान्ट गराइन्। त्यसपछि बिस्तारै आफ्नो जीवनशैली परिवर्तन गर्दै गइन्। करिब पाँच वर्षअघि उनले लिंग परिवर्तनको शल्यक्रिया पनि गराइन्। यो सम्पूर्ण प्रक्रियामा उनले झण्डै १०–१२ लाख रुपैयाँ खर्च गरेको बताइन्छ। तर त्यो खर्चभन्दा ठूलो कुरा थियो— आफूलाई आफूजस्तो बनाउन पाएको सन्तुष्टि।

नागरिकता परिवर्तनको ऐतिहासिक निर्णय

पहिचान बदलियो। जीवन बदलियो। तर नागरिकता अझै कैलाश श्रेष्ठकै नाममा थियो। यो अवस्था उनलाई पूर्ण रूपमा स्वीकार्य थिएन। त्यसपछि उनले कानुनी बाटो समातिन्। अन्ततः २०७७ चैत २३ गते मन्त्रिपरिषद् बैठकले एउटा महत्वपूर्ण निर्णय गर्यो। उनको नागरिकताको विवरण संशोधन गर्ने स्वीकृति दिइयो।

नाम भयो—भूमिका श्रेष्ठ

लिंग भयो—महिला

जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसै अनुसार नागरिकताको प्रतिलिपि जारी गर्यो।

भूमिकाको दाबी छ— नाम परिवर्तन गरेर नागरिकता पाउने देशकै पहिलो ट्रान्सजेन्डर व्यक्ति उनी नै हुन्।

संघर्षबाट संसदसम्म

यही संघर्षले उनलाई सामाजिक अभियानतर्फ पनि तान्यो। लामो समयदेखि उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्दै आइरहेकी छन्। त्यही सक्रियता र पहिचानका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिक बन्दसूचीमा राख्यो। आदिवासी जनजाति महिला क्लस्टरबाट १३ जना सांसद चयन हुँदा भूमिकाको नाम पनि सुरक्षित भयो। यससँगै उनी बनिन्— नेपालको पहिलो ट्रान्सजेन्डर सांसद। र तेस्रोलिंगी समुदायबाट संसद पुग्ने दोस्रो व्यक्ति। यसअघि २०६४ सालको संविधानसभामा सुनीलबाबु पन्त सभासद बनेका थिए। सोमबार ब्लु डायमण्डले सांसद बनेको खुसीमा भूमिकाको सम्मान समेत गरेको थियो ।

नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अधिकार दिएको छ। विशेषगरी धारा १४ र धारा १८ ले समानताको कुरा गर्छ। तर व्यवहारमा ती अधिकार पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्। त्यसैले उनको मुख्य एजेन्डा संसदमा वैवाहिक समानता, कानुनी पहिचानको सहजता, समाजको दृष्टिकोण परिवर्तन र अल्पसंख्यक समुदायप्रतिको सम्मान गर्ने हुनेछ । साथै उनले मधेसी र मुस्लिम समुदायप्रतिको सामाजिक दृष्टिकोण बदल्न पनि पहल गर्ने बताएकी छन् ।