आक्रामक शैलीबाट एकाएक फेरिएको रविको भाषण ‘डिकोड’ गर्दा…

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

चुनावमा होमिँदा रास्वपा सभापति रवि लामिछाने दलका अन्य नेताको तुलनामा सबैभन्दा धेरै भाषण गर्थे । वरिष्ठ नेता बालेन्द्र शाह तीन ठाउँमा मात्रै बोल्दा रवि हरेक रोड शोमा बोल्न भ्याउँथे । उनको त्यो भाषणमा आक्रामक, उत्तेजक र प्रतिरोधको भाषा हुन्थ्यो । उनी भीडलाई भावनात्मक रूपमा उत्तेजित गर्न सक्ने वक्ता थिए, जसले स्थापित शक्तिविरुद्ध रोषलाई शब्द दिन्थे। तर त्यही रवि बुधबार रास्वपाको अभिमुखीकरणमा भने निकै जिम्मेवार रूपमा प्रस्तुत भए । पार्टीले झण्डै दुई तिहाइ मतसहित अब सरकार र संसदमा प्रतिनिधित्व गरिरहँदा उनले बोलेको भाषणलाई लिएर अहिले धेरैले जिम्मेवार सभापति भन्न थालेका छन् । यो परिवर्तन केवल शैलीगत होइन, संरचनागत हो । हामीले उनको भाषण र अभिव्यक्तिलाई डिकोड गर्ने प्रयास गरेका छौं ।

१. पुराना दललाई धन्यवाद



चुनावअघि लामिछानेको भाषणमा “तिनीहरू” विरुद्ध “हामी” को स्पष्ट विभाजन थियो। अर्थात् उनी पुराना दलप्रति आगो ओकल्थे । आफुमाथि षड्यन्त्र गरेको, देश लुटेर सिध्याएको भन्न भ्याउँथे । तर बुधबार भने  उनले पुराना दलप्रति सम्मान व्यक्त गरेका छन्। “इतिहास उहाँहरूले लेख्नुभयो” भन्ने स्वीकारोक्ति केवल कूटनीतिक नम्रता होइन—यो राजनीतिक पुनर्स्थापना हो । यसको अर्थ उनी अब पुराना शक्तिहरूसँग पूर्ण द्वन्द्वमा जान चाहँदैनन् । शक्ति संरचनाभित्रै बसेर परिवर्तन गर्ने संकेत दिइरहेका छन् । राज्यका स्थायित्वका पक्षहरूलाई आश्वस्त पार्न खोजिरहेका छन् ।

२. आक्रामक समर्थकलाई ‘डि–मोबिलाइज’ गर्ने प्रयास

लामिछानेले आफ्ना समर्थकप्रति गरेको अपिल निकै महत्वपूर्ण छ। उनले आफ्ना समर्थकहरू अराजक भएको भन्ने टिप्पणी सुन्ने गरेको भन्दै अब “गाली नगर्नुस्, कटाक्ष नगर्नुस्” भन्दै आग्रह गरे । उनले रास्वपालाई लाग्दै आएको आरोप अनि पार्टीको भइरहेको ड्यामेज कन्ट्रोललाई रोक्ने प्रयास गरे । हुन पनि रास्वपाको डिजिटल आधार अत्यन्त सक्रिय छ । तर असंयमित देखिँदै आएको छ । पत्रकारमाथि आक्रमण, विपक्षीप्रति तुच्छ भाषा, सामाजिक सञ्जालमा उग्र प्रतिक्रियाहरू यी सबैले पार्टीलाई “अराजक शक्ति” को रूपमा ब्रान्ड गर्ने खतरा थियो।

त्यसैले लामिछानेले समर्थकलाई संयमित हुन निर्देशन दिए । पार्टीको छविलाई जिम्मेवार बनाउन उनी खोजिरहेका छन् ।

३. सांसदहरूलाई ‘शासक होइन, सेवक’ बनाउने राजनीतिक सन्देश

सम्बोधनका क्रममा रविले भने ‘सरकारी अस्पतालमै उपचार गर्नुस्’ , ‘निजी जीवनको छाडापन त्याग्नुस्’, ‘मन्त्री बन्ने दौडमा नलाग्नुस्’ जस्ता विषय उठाएर उनले नैतिक उच्चता कायम गर्न खोजेका छन् । पुराना दलहरूबाट आफूलाई फरक देखाउन खोज्दैछन् । अनि जनतामा “हामी फरक छौं” भन्ने सन्देश मजबुत पार्ने रणनीति बनाएका छन् । तर यहाँ एउटा जोखिम पनि छ, यदि व्यवहारमा यो लागू भएन भने, यही नैतिक दाबी उल्टै विश्वसनीयताको खडेरीमा परिणत हुन सक्छ।

४. निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायलाई ‘सिग्नल’

लामिछानेले आफ्नो भाषणमा निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउने प्रयास गरे। “हामी स्थिर छौं, हामीसँग काम गर्न सकिन्छ” भन्ने भरोसा निर्माण गर्दैछन् ।

५. अनुशासन र ‘राइट टु रिकल’ को चेतावनी

लामिछानेले “राइट टु रिकल कडाइका साथ लागू गर्छौं” भनेका छन्। यो केवल नीतिगत घोषणा होइन—यो आफ्नै सांसदहरूप्रति  आन्तरिक नियन्त्रण संयन्त्र बनाउने ध्येय हो ।  सायद रविले  आफ्नै पार्टीभित्र अनुशासनको जोखिम देखेको हुनुपर्छ । उनी केन्द्रीय नियन्त्रण बलियो बनाउन चाहन्छन् भन्ने पनि यसले पुष्टि गरेको छ । तर नेपालजस्तो संसदीय प्रणालीमा यस्तो कठोर नियन्त्रणले आन्तरिक असन्तोष, गुटबन्दी वा विद्रोह उत्पन्न गराउन सक्छ।

लामिछानेले “जनताले ३५ वर्ष पर्खिए, तर हामीलाई ३५ दिन पनि पर्खँदैनन्।” भन्न भ्याए ।  यो वाक्यले सम्पूर्ण राजनीतिक अवस्थालाई समेट्छ। अपेक्षा असाध्यै उच्च छ । सहनशीलता अत्यन्त कम छ । असफलता छिटो दण्डित हुनेछ । यसैले उनले सांसदहरूलाई “हरेक पाइला सोचेर चाल्न” भनेका छन्।

उनका अभिव्यक्तिलाई  डिकोड गर्दा नेतृत्व परिपक्वता देखिएको छ । सत्ता नजिक पुग्दा जिम्मेवारीको बोध अनि भाषामा सन्तुलन हुनुले संस्थागत सोचको विकास भएको देखिन्छ । त्यसबाहेक  शक्ति संरचनासँग टकराव टार्ने प्रयास, बजार र अन्तर्राष्ट्रिय समुदायलाई सन्देश दिने उनको रणनीति पनि हुनसक्छ ।

तर प्रश्न भने एउटै छ । के यो परिवर्तन व्यवहारमा देखिन्छ? यदि समर्थक संयमित भए, सांसद अनुशासित रहे, सरकार परिणाममुखी भयो भने लामिछानेको यो “टोन शिफ्ट” ऐतिहासिक मोड बन्न सक्छ। तर यदि पुरानै आक्रामकता फर्कियो, आन्तरिक द्वन्द्व बढ्यो अनि अपेक्षा पूरा भएन भने यही भाषण भविष्यमा राजनीतिक विडम्बना को प्रमाण बन्नेछ।

अहिलेका लागि, एउटा कुरा स्पष्ट छ । रवि लामिछाने अब भीड उचाल्ने नेता होइनन्, भीडको अपेक्षा बोक्ने नेता बनेका छन्।