नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आगामी चैत १२ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन् । संघीय संसद सचिवालयले आज एक सूचना जारी गर्दै चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिएको हो ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ । शपथ ग्रहणका लागि सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त निर्वाचित भएको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्नेछ ।
सचिवालयले सांसदहरूलाई आ(आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ । साथै, नेपाली भाषा बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको व्यहोरा आफ्नो भाषामा अनुवाद गरी सोको प्रति कार्यक्रम हुनुभन्दा ३ दिन अगावै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने प्रावधान राखिएको छ।
यो शपथ ग्रहणसँगै नयाँ प्रतिनिधि सभाको संसदीय प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।