२७ बुँदामा हारको कारण केलाउँदै विश्वप्रकाशको निष्कर्ष : गगन थापाको राजीनामा स्वीकृत गर्नहुन्न

  • प्रकाशित मिति : २०८२ चैत्र ७, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयका २७ बुँदे कारणहरू प्रस्तुत गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा संक्षिप्त चुनावी प्रतिवेदन प्रस्तुत गर्दै उनले नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने प्रस्ताव समेत राखेका छन् ।



शर्माको प्रतिवेदनमा निर्वाचनका क्रममा पार्टीभित्रैबाट भएको ’अन्तरघात’ भएको समेत उल्लेख गरिएको छ। कतिपय नेताहरूले ’साइलेन्स किलिङ’ (मौन बसेर हराउने) र ‘स्याबोटेज’ (षड्यन्त्र) को भूमिका निभाएको भन्दै उनीहरूलाई अनुशासनको दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ । विशेष महाधिवेशनप्रति असहमति राख्ने पक्षले रूख चिह्नका उम्मेदवारलाई नसघाउँदा जित्न सक्ने ठाउँमा पनि हार व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ।

सभापति गगन थापाको राजीनामाका सम्बन्धमा शर्माले भनेका छन्, ‘विशेष महाधिवेशन भएको ५० दिनको छोटो अवधिमै दिग्विजयको परिणाम खोज्नु न्यायपूर्ण हुँदैन। प्रतिकूलता चिरेर पार्टीलाई सम्हाल्ने जिम्मेवारी सभापतिकै हो, त्यसैले उहाँको राजीनामा अस्वीकृत गरिनुपर्छ।’

निर्वाचनमा दोस्रो दल बने पनि कांग्रेसले अंगालेको लोकतान्त्रिक र उदार अर्थतन्त्रको नीतिको भने जित भएको प्रतिवेदनमा दाबी गरिएको छ। विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा भरेका कारण कांग्रेस शून्य परिणामको दुर्दशाबाट जोगिएको शर्माको ठहर छ।

अब विगतका कमीकमजोरी सच्याउँदै कांग्रेसले गरेका राम्रा कामहरू जनतामा पुर्‍याएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।