परराष्ट्र भन्छ– खाडीमा नेपालीहरू सुरक्षित छन्, आत्तिनुपर्ने अवस्था छैन

  • प्रकाशित मिति : २०८२ चैत्र ७, शनिबार
  • नेपाल टेल संवाददाता

अमेरिका–इजरायल र इरान युद्ध तेस्रो सातामा प्रवेश गरेको छ । पछिल्लो समय इरानले नेपालीहरूको प्रमुख श्रम गन्तव्य खाडीका देशमा आक्रमण गरिरहेको छ । १८ मार्चदेखि इरानले ग्यास प्रोडक्सन एन्ड डिस्ट्रिव्युसन केन्द्रहरूमा आक्रमण बढाएको छ । त्यहाँ रहेका नेपालीहरूको अवस्था बुझ्न सरकारले छुट्टै अनलाइन पोर्टल नै बनाएर विवरणहरू संकलन गरिरहेको छ, जसमार्फत अहिलेसम्म ८१ हजार ४११ जनाले आफ्नो विवरण टिपाएको शुक्रबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसरी आफ्नो विवरण दर्ता गराउनेमध्येमा ७ हजार २८४ जनाले आफू असुरक्षित रहेको भन्दै टिपाएका छन् । तर, उनीहरू सबैलाई विदेशस्थित नेपाली नियोगहरूले सम्पर्क गर्दा धेरैजसोले आफूहरू सुरक्षित रहेको बताएका छन् ।



खाडीका देशमा रहेका नेपालीहरूको सहयोगका लागि यी देशमा रहेका नेपाली दूतावासहरू पूर्ण रूपमा खुला नै छन् ।

के छ खाडीका देशमा नेपालीको अवस्था ?

यूएईमा अहिलेसम्म युद्धमा परी एक नेपालीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । जियाद इन्टरनेसल एयरपोर्टमा मिसाइलको टुक्रा खसेर लाग्दा १ मार्चमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको हो । त्यसै दिन ट्रान्जिटमा रहेका थप १४ नेपाली पनि घाइते भएका थिए । तर, उपचारपछि सबै जना आफ्नो गन्तव्यमा पुगिसकेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय यूएईमा घाइते भएका अर्का एक नेपाली पनि उपचारपछि निको भएर सामान्य दैनिकीमा फर्किएका छन् । एक जना भने डरले भाग्दा लडेर ढाड र घुँडामा चोट लगेको छ । खाडीकै अर्को देश ओमानमा अहिलेसम्म एक नेपाली घाइते भएका छन् । ओमानको सोहर भन्ने स्थानमा छर्रा लागेर घाइते भएका उनी उपचारपछि डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । यसबाहेक ओमानमा अहिलेसम्म नेपालीहरूमाथि कुनै त्यस्तो अप्रिय घटना भएको छैन ।

यस्तै, खाडीका देशमा ट्रान्जिटमा रहेका नेपालीहरू पनि सुरक्षित रूपमा आआफ्नो गन्तव्यमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिले इराक, कुवेत र बहराइनको हवाई आकाश पूर्ण रूपमा बन्द छ । कतार र यूएईबाट आंशिक रूपमा उडान भइरहेको छ भने साउदीको रियाद र दमामका साथै ओमानको विमानस्थल भने पूर्ण रूपमा खुला छ ।

खाडीका देशमा युद्धका कारण अहिलेसम्म २० जना नेपाली घाइते भएका छन् । एक जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सबै जना उपचारपछि सामान्य दैनिकीमा फर्किएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा युद्धको फोटो भिडियो पोस्ट गरेका कारण सात नेपाली पक्राउ परेका छन् । यूएईमा ३ जना, साउदीमा ३ जना र कुवेतमा एक जना पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

खाडीका देशहरूले युद्धको फोटो तथा भिडियो खिच्न र अफवाह फैलाउने किसिमका सूचना तथा जानकारीहरू शेयर नगर्न मन्त्रालयले अनुरोध गरेको छ । ‘सामाजिक सञ्जालमा शेयर नगरे पनि फोटो भिडियो खिचेर मोबाइलमा पनि नराख्नुहोस्,’ मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘म्यासेन्जरमा कोही कसैलाई पठाएको पाइएमा पनि कारबाही हुन्छ, त्यसैले फोटो तथा भिडियो खिच्ने काम नगर्नुहोस् ।’

इजरायल र साइप्रसमा सुरक्षित

इजरायल र साइप्रसमा रहेका नेपालीहरू भने अहिलेसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । यी देशमा कार्यरत नेपालीहरूसँग तेलअभिभस्थित नेपाली दूतावासले नियमित सम्पर्क र समन्वय गर्ने काम गरिरहेको छ ।

यता इरानमा भने एक नेपाली पक्राउ परेका छन् । स्टेट अफ हर्मुजबाट पानी जहाजमा कार्यरत अमृत राईलाई इरानी सुरक्षा निकायले पक्राउ गरी थुनामा राखेको छ । उनीबाहेक पनि इरानमा कार्यरत थप १० नेपाली सम्पर्कमा आएका छन् । उनीहरू इरानमा रहेको भारतीय दूतावासमा कार्यररत रहेको मन्त्रालयले जनाएको छ ।

भारतीय दूतावासले आफ्ना नागरिकको उद्धारका क्रममा उनीहरूलाई पनि उद्धार गर्ने जनाएको छ । अहिलेसम्म उनीहरू १० जना सुरक्षित रहेका छन् ।

रोकिए ३६ नेपालीका शव

युद्धका कारण उडान रोकिँदा ३६ नेपालीका शव उतै रोकिएका छन् । साउदी, कतार, कुवेत र यूएईमा विभिन्न कारणले ज्यान गुमाएका ३६ नेपालीका शव रोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यूएईमा १६, कुवेतमा ७, साउदीमा ६, र कतारमा ७ वटा शव रोकिएका छन् । युद्धको असर उडानमा पर्दा त्यहाँ ज्यान गुमाउने नेपालीको शव नेपाल ल्याउन नसकिएको हो ।

उनीहरूको युद्धका कारणले नभई सडक दुर्घट्ना लगायत विभिन्न कारणले ज्यान गएको हो । युद्धकै कारण यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठकोे शव भने यसअघि नै नेपाल आइसेको छ ।

नेपालीहरू सुरक्षित छन्

खाडीका देशमा कार्यरत नेपालीहरू सुरक्षित रहेको र अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो समय खाडीका देशमा आक्रमणका घटना कम हुँदै गएको भन्दै मन्त्रालयले असुरक्षित रहेको भन्दै गुनासो गर्नेहरूको संख्या पनि कम हुँदै बताएको छ ।

पुनः श्रम स्वीकृति खुला गरेसँगै मन्त्रालयको इमर्जेन्सी एक्सन कक्षमा आउने गुनासोहरूसमेत कम भएको छ । तर, यद्धका कारण दैनिक उपभोग्य वस्तुको मूल्यमा भने झण्डै २० प्रतिशतसम्म वृद्धि भएको छ । यसले त्यहाँ रहेका नेपालीको बचतका साथै रेमिट्यान्समा समेत प्रभाव पर्ने छ ।