नेपाली काँग्रेसले नेविसंघले पार्टीको भ्रातृ संगठनबाट अलग हुने निर्णय गरे कारबाही हुन सक्ने चेतावनी दिएको छ।
सानेपामा जारी केन्द्रीय समिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले पार्टीको विधानअनुसार स्थापित संस्थाले अलग हुने घोषणा गर्नु अवैधानिक र अराजनीतिक भएको बताए।
उनले लोकतान्त्रिक अभ्यासमा असहमति राख्न पाइने भए पनि ती विषय विधानभित्रै समाधान गर्नुपर्ने स्पष्ट पारे। चालिसेका अनुसार नेविसंघ, तरुण दल र महिला संघजस्ता संगठनहरू काँग्रेसकै संरचनाभित्रका अंग भएकाले अलग हुने निर्णयले अनुशासन र मर्यादाको प्रश्न उठाउँछ।
यस विषयले बैठकमा प्रवेश पाइसकेको र पार्टीले आवश्यक निर्णय लिने संकेत दिइएको छ। उता, नेविसंघका एक समूहले सिनेटको निर्णय अस्वीकार गर्दै अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको मागसहित नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएको छ।