क्रिप्टो करेन्सी कारोबारमा संलग्न युवा, युवती प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : २०८२ चैत्र ११, बुधबार
  • नेपाल टेल संवाददाता

क्रिप्टो करेन्सी कारोबार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २ मा कोठा भाडामा लिइ क्रिप्टो करेन्सी कारोबार गर्ने गरेको सूचनाका आधारमा चितवन प्रहरीले सप्तरीको राजविराज १२ घर भएका २५ वर्षका आशिष कुमार दास र भरतपुर २६ घर भएकी २२ वर्षकी विनीता परियारलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।



जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर दीपकप्रसाद रिजालका अनुसार युवती र युवक भाडामा लिएको कोठामा बसेर त्यहीँबाट अभौतिक मुद्रा अर्थात् क्रिप्टो करेन्सीमा संलग्न रहेका थिए ।

उनीहरूले बाइनास नामक एप्लिकेशनको प्रयोग गरी क्रिप्टो करेन्सीको काम गर्ने गरेको अनुसन्धानबाट खुलेको इन्स्पेक्टर रिजालले बताएका छन् । उनका अनुसार दैनिक ७ लाख रुपैयाँसम्म उनीहरूले कारोबार गर्ने गरेको पाइएको छ ।

उनीहरूको साथबाट ३ थान चेकबुक, ४ थान एटिएम कार्ड, ५ थान मोबाइल, एक सेट कम्प्युटर, ल्यापटप १ थान, ट्याब २ थान, ६ थान नेपाली र २ थान भारतीय सीमकार्ड पेन ड्राइभ लगायतका डिजिटल डिभाइस पनि प्रहरीले बरामद गरेको जनाएको छ । एक लाख ९ हजार नौ सय पन्चान्बे रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

नेपालको फौजदारी मुलुकी संहिताले अभौतिक मुद्रा अर्थात् क्रिप्टो करेन्सी कारोबारलाई अवैधानिक मानेको छ । संहिताको २६२ दफाको उपदफा क ले अभौतिक मुद्राको प्रयोग गर्न नहुने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैँकले जारी गर्ने मुद्रा बाहेक भर्चुअल मुद्राको उत्पादन बिक्री, कारोबार, सटही वा स्थानान्तरण गर्न, होल्ड गर्न नहुने उल्लेख छ । त्यस्तो कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र बिगो बराबरको जरिवाना हुने व्यवस्था रहेको छ ।