चर्चामा आएका सबैले ताक्न थाले मन्त्री, आखिर को बन्ला त सभामुख ?

  • प्रकाशित मिति : २०८२ चैत्र ११, बुधबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा शुक्रबार नयाँ सरकार गठन हुँदै छ । बिहीबार निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि बालेनले प्रधानमन्त्रीको शपथ शुक्रकार लिने तयारी भएको छ । त्यसअघि बिहीबार साँझ रास्वपाले बालेनलाई संसदीय दलको नेता चयन गर्ने पनि तयारी गरेको छ ।

बालेन प्रधानमन्त्री हुँदा कति सदस्यीय मन्त्रिमण्डल हुने भन्ने प्रस्ट भइसकेको छैन । रास्वपाका सांसदहरूले मन्त्रीका लागि आकांक्षा राखे पनि ती आकांक्षा बालेनसम्म पुग्न सकेका छैनन् । त्यसैले धेरै जनाको नाम बाहिर चर्चामा आए पनि बालेन र सभापति रवि लामिछानेले ती नाम छलफलमा



राखेका छन कि छैनन् भन्नेमा स्वयम् सांसद अन्योलमा देखिएका छन् ।यद्यपि, मन्त्रीका लागि सांसदहरूले रस्साकस्सी भने चलाएका छन् । मन्त्रीका लागि अधिक चासो राख्ने सांसदहरूले सभामुखका लागि भने चासो राखेका छैनन् । रास्वपा स्रोतका अनुसार अधिकांश सांसदले सभामुखभन्दा पनि मन्त्रीमा जोड दिएका छन् । त्यसले गर्दा सभामुख कसलाई बनाउने भन्ने अन्योल देखिएको छ ।

रास्वपा स्रोतका अनुसार सभामुखका लागि उपसभापति डोलप्रसाद (डीपी) अर्याल, सोविता गौतम, प्रतिभा रावलको नाम बाहिर आएको छ । त्यसमा पूर्वमन्त्री जगदीश खरेलको नाम पनि चर्चामा छ । स्रोतका अनुसार बालेनको टिमबाट खरेलको नाम अघि सारिएको छ । उनी पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने चाहनामा छन् । त्यसैअनुसार लबिङ गरिरहेका छन् । मन्त्री नहुँदाको विकल्पमा मात्रै सभामुख हुन सक्ने भन्दै चर्चा चलाइएको छ ।

उपसभापति अर्याल पनि सभामुखभन्दा गृहमन्त्रीमा नजर लगाइरहेका छन् । सभामुख हुँदा पार्टीसँग सम्बन्ध कमजोर हुने आकलनसहित उनी शक्तिशाली मन्त्री हुने चाहनामा देखिएका हुन् । सभापति लामिछानेले पनि अर्याललाई गृह मन्त्रालयमै पठाउन खोजेका छन् ।

यद्यपि, गृह मन्त्रालय बालेनले आफ्नो कोटाबाट हुनपर्ने अडान छोडेका छैनन् । उनको टिमबाट गृह मन्त्रालयमा सुनिल लम्सालको अगाडि सारिएको छ । रक्षा मन्त्रालय पनि आफ्नो मातहत राख्न खोजेका बालेनले गृह मन्त्रालय पनि आफ्नो कोटामा राख्ने प्रयास गरिरहेका छन् ।

सोविता गौतमको नाम अघिल्लो संसदमा उपसभामुखका लागि चर्चामा आएको थियो । रास्वपाले त्यतिबेला गौतमलाई छोडेर इन्दिरा रानामगरलाई अघि सारेको थियो । अहिले गौतमको नाम सभामुखका लागि चर्चामा छ । तर, उनको चाहना भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री हुने छ । गौतमले पार्टीभित्र त्यसैअनुसारको लबिङ गरेकी छन् । गौतमलाई सभामुखमा लैजाँदा सुलभ खरेललाई कानुनमन्त्री बनाउन सकिने चर्चा पनि रास्वपाभित्र भइरहेको छ ।

पहिला उपसभामुख भएकी रानाको नाम पनि सभामुखका लागि आएको छ । तर, उनी पनि सभामुखभन्दा मन्त्री हुने लाइनमा देखिएकी छन् । रास्वपाका सांसदहरूको भनाइमा राना महिला तथा बालबालिकामन्त्री हुन चाहेकी छन् ।

प्रतिभा रावलले भने पहिलोपटक संसदमा प्रवेश गरेकी हुन् । उनलाई सभापति लामिछानेनिकट सांसद भनेर चिनिन्छ । सोहीकारण सभापति लामिछानेले प्रस्ताव गरे उनी सभामुख हुनसक्ने पनि चर्चा रास्वपाभित्र भइरहेको छ ।

रास्वपामा सभामुखभन्दा मन्त्री हुन चाहने सांसदहरू बढ्ता देखिएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुख फरक पार्टी र लिङ्गको चयन गर्नुपर्ने भएकाले रास्वपाले कसलाई साथ लिन्छ ? भन्ने पनि चासोको विषय बनेको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकोले उक्त पद पनि महत्त्वपूर्ण मानिन्छ । कतिपयले भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग मिलेर रास्वपाले सभामुख र उपसभामुखको चुनाव गर्ने अनुमान गरेका छन्, जसले गर्दा रास्वपालाई राष्ट्रियसभामा सहज हुने देखिन्छ ।