प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले छातीमा एक विशेष खालको ‘ब्याज’ लगाएको देखियो।
उनले लगाएको ब्याज किराँती संस्कृतिमा लगाइने ‘सिलाम साक्मा’ हो।
बालेनले मात्र होइन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका सुहाङ नेम्वाङ लगायत अन्य केही सांसदहरूले पनि किराँती संस्कृतिको यस्तो ब्याज लगाएका थिए।
के हो सिलाम साक्मा ?
लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हो । त्यसैले सिलाम साक्माको अर्थ ‘मृत्युको बाटो छेक्ने’ हुन्छ ।
यो केवल एउटा पहिरनको हिस्सा मात्र होइन, लिम्बू समुदायको सांस्कृतिक पहिचान, आस्था र विश्वाससँग गहिरो रूपमा जोडिएको प्रतीक हो । पछिल्लो समय यसको प्रयोग बढ्दै जानु सांस्कृतिक चेतना र आफ्नो पहिचानप्रतिको गर्वको संकेतका रूपमा पनि बुझ्न सकिन्छ ।
अतिथिलाई स्वागत गर्ने क्रममा सिलाम साक्माको प्रयोग हुने गरेको छ । सार्वजनिक समारोह तथा विवाहमा सहभागी हुन पनि सिलाम साक्मालाई छातीमा सजाएर पुग्ने गर्छन् ।
कसरी बनाइन्छ ?
हातले बुनिने चारकुने सिलाम साक्मामा छेउमा फुर्को बनाइन्छ । यसलाई दुईवटा बासको कप्टेरोमा विभिन्न रङ्गका धाकोबाट आकर्षक ढंगले बनाइन्छ । दैविक शक्तिलाई खुसी पारेर सुख, शान्ति, सद्भावको कामना गर्दै तङ्सिन गरिन्छ । सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रुपमा पनि लिइन्छ ।