एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

  • प्रकाशित मिति : २०८२ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बराहीबाट पक्राउ गरेको हो ।



उनले एक बालिकालाई घरमा राखेर बालश्रम गरेकाे आरोप लागेका थियो ।

घटना के हो ?

काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गरिरहेका थिए । त्यसक्रममा ती नाबालिका अध्ययनरत विद्यालयमा पुगेर सर्वेक्षण गर्दा उनलाई काममा लगाइएको र श्रमशोषण भएको खुलाएकी थिइन् ।

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।

घरधनी (प्रदेश सांसद रेखा कुमारी शर्माको परिवार)ले हात र पाइपले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको खुलाएकी थिइन् ।

उनले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दशैंमा समेत घर जान नदिएको गुनासो गरेकी थिइन् । सर्वेक्षणका कागजात परीक्षणका क्रममा इजलासले नाबालिकासँग गोप्य रुपमा समेत कुराकानी गरेको थियो । उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

छोरीको उद्धार गरेको भेटिएपछि ती नाबालिकाका बाबु काठमाडौंमा आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।