अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग वाणिज्य महासंघका प्रतिनिधिबीच भएको भेटवार्तामा निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण स्पष्ट पारिएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रले अनावश्यक झन्झट र दबाब झेल्न नपर्ने बताएका छन्। उनले घुस, अनावश्यक लाइन र प्रशासनिक अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्दै सरकार निजी क्षेत्रको सहयात्रीका रूपमा अघि बढ्ने बताए।
“अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन र निजी क्षेत्रका मानिस थुनिनु पर्ने अवस्था आउँदैन,” उनले भने, “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने लक्ष्यसहित आएको छु।”
वाग्लेले आर्थिक अनियमितता भएमा कानुनी कारबाही स्वरूप आर्थिक जरिवानामा जोड दिइने तर व्यवसायीलाई अनावश्यक रूपमा थुनिने अवस्था अन्त्य गर्ने नीति लिइने स्पष्ट पारे।
सरकारले सहकार्यको वातावरण बनाउँदा निजी क्षेत्र पनि जिम्मेवार र पारदर्शी बन्ने अपेक्षा व्यक्त गर्दै उनले नियोजित बेइमानी भएमा भने सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए।