अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमण र मृत्युदर बढेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ सय ४० जनाको मृत्यु भएको छ भने ९९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ४ हजार ५ सय ८९ जनाको मृत्यु भएको थियो भने ९४ हजार ८ सय १३ जना नयाँ संक्रमित थपिएका थिए।
हालसम्म विश्वभर कोरोना भाइरसबाट ३ लाख २९ हजार ७ सय २१ जनाको मृत्यु भएको छ भने ५० लाख ८५ हजार ६६ जना संक्रमित भएका छन्। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका २१३ देशमा फैलिएको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ९ सय ९४ पुगेको छ भने १५ लाख ९१ हजार ९ सय ९१ जना संक्रमित बनेका छन्।
त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ९ सय ११ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ९४ पुगेको छ भने २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित बनेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै रुसमा १३५ जना, स्पेनमा ११० जना, यूकेमा ३६३ जना, इटलीमा १६१ जना, मेक्सिकोमा ३३४ जना, भारतमा १३२ जनाको मृत्यु भएको छ।