राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै, अर्याल अब केवल पार्टीका उपसभापति मात्र होइनन् संसदीय शक्ति संरचनाको केन्द्रतर्फ उक्लँदै गरेका पात्र बनेका छन्। चैत २२ को निर्वाचन केवल एक औपचारिकता जस्तो देखिन्छ; बहुमतको गणितले उनलाई देशको १०औँ सभामुख बनाउने बाटो लगभग सुनिश्चित गरिसकेको छ।
राजनीतिक उकालो: संकटमा उभिएको नेतृत्व
रवि लामिछाने जेलमा रहँदा रास्वपाको नेतृत्वको खालीपन भरिदिने व्यक्ति कोही थियो भने, त्यो अर्याल नै थिए। पार्टीको संगठनात्मक संरचना जोगाउनेदेखि निर्णय प्रक्रियालाई गतिशील बनाउनेसम्म उनले ‘कार्यवाहक शक्ति’ को रूपमा आफ्नो क्षमता देखाए। रास्वपा जस्तो नयाँ शक्ति, जसले पुराना दलहरूको वर्चस्व तोड्ने दाबी गर्छ, त्यहाँ अर्यालको भूमिका केवल प्रशासनिक थिएन अस्तित्वको लडाइँ थियो। यही कारण, सभापति लामिछाने स्वयंले उनलाई सभामुखको उम्मेदवार प्रस्ताव गर्नु केवल राजनीतिक निर्णय होइन, विश्वासको औपचारिक घोषणाजस्तै हो।
समानुपातिकबाट शक्ति केन्द्रसम्म
अर्यालको संसदीय यात्रा प्रत्यक्ष निर्वाचनको जनादेशबाट सुरु भएको होइन। उनी समानुपातिक सूचीबाट संसदमा प्रवेश गरेका हुन् । २०७९ को चुनामा उनी समानुपातिक सांसद बनेर संसदमा प्रवेश गरेका थिए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुईपटक मन्त्री बन्नु कुनै सामान्य उपलब्धि होइन। यसले उनीभित्रको ‘संगठन–मैत्री’ र ‘सन्तुलनकारी’ छवि उजागर गर्छ ।
धादिङको गाउँदेखि काठमाडौँको संघर्षसम्म
धादिङको साविक मैदी गाविस आजको ज्वालामुखी गाउँपालिका त्यो भूगोल हो, जहाँबाट अर्यालको कथा सुरु हुन्छ। निम्न आर्थिक हैसियत, सीमित अवसर, र ठूलो आकांक्षा यी तीन तत्वले उनको प्रारम्भिक जीवनलाई परिभाषित गर्छन्।
२०४९ सालपछि मात्र काठमाडौँ प्रवेश गरेका अर्यालको जीवनको पहिलो अध्याय संघर्षमै बित्यो। रेस्टुरेन्टको भान्सामा मजदुरको रूपमा काम गर्दै उनले राजधानीको यथार्थ चिने—त्यो यथार्थ, जहाँ सपना भन्दा पेट ठूलो हुन्छ।
वैदेशिक यात्राले बनाएको ‘व्यवस्थापक’
२०५३ सालमा उनी जापान गए । करिब ८ वर्षको बसाइँले अर्याललाई केवल आर्थिक रूपमा सबल बनाएन; यसले उनलाई अनुशासन, व्यवस्थापन र अन्तर्राष्ट्रिय श्रम बजारको बुझाइ पनि दियो। नेपाल फर्किएपछि उनले पर्यटन, वैदेशिक अध्ययन र रेमिटेन्स क्षेत्रमा एकैसाथ लगानी गरे। सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी, इजिलिंक रेमिटेन्स जस्ता संस्थामा उनको लगानी छ ।
रेमिटेन्स र सहकारी: शक्ति र विवादको दोधार
इजिलिंक रेमिटेन्सको सिइओको रूपमा करिब डेढ दशकको अनुभवले उनलाई वित्तीय प्रवाह, आप्रवासी श्रम र विदेशी मुद्रा व्यवस्थापनको सूक्ष्म समझ दिएको छ। खाडी मात्र होइन जापान, कोरिया जस्ता गन्तव्यका नेपाली श्रमिकका समस्या उनले प्रत्यक्ष भोगेका र बुझेका छन्। तर यही क्षेत्र सहकारी र रेमिटेन्स नेपालमा सधैं विवादको केन्द्र पनि रहँदै आएको छ।
समाजसेवा: राजनीतिक ब्रान्डिङ कि प्रतिबद्धता?
कालिकोटको रास्कोटमा सामुदायिक अस्पताल निर्माणदेखि कोरोना महामारीमा अक्सिजन वितरण अर्यालले समाजसेवामा पनि सक्रियता देखाएका छन्।
निष्पक्ष सभामुख बन्न चुनौती
नेपालको संसदीय इतिहासमा आजसम्म पूर्व सभामुख स्व. सुवासचन्द्र नेम्वाङबाहेक सबै विवादमा परे । प्रतिपक्षले सधैँ सत्तारुढ दललाई सहयोग गरेको आरोप लगाए । गत चुनावबाट सभामुख चुनिएका देवराज घिमिरेलाई पनि यही आरोप लागेको थियो । रास्वपा सभापति रवि लामिछानेले त सभामुखको भूमिकामाथि प्रश्न उठाएकै हुन् । त्यसैले अहिले त झन् करिव दुई तिहाइसहितको पहिलो दलबाट सभामुख बन्न लागेका अर्याललाई सबै दललाई मिलाएर अघि बढ्नु प्रमुख चुनौती छ ।
हुन पनि सभामुख पद केवल औपचारिकता होइन; यो संसदीय प्रक्रियाको ‘अन्तिम निर्णायक’ हो। निष्पक्षता, विधि, र राजनीतिक दबाबबीच सन्तुलन राख्न सक्ने क्षमता यहाँ परीक्षण हुन्छ। अर्याल समाभुख बन्दै गर्दा उनीमाथि असंख्य चुनौती छन् ।