फिल्मी स्टाइलमा काम गर्न खोजेका सुधन एक महिना पनि टिकेनन्, गृह मन्त्रालय खाली

  • प्रकाशित मिति : २०८३ बैशाख ९, बुधबार
  • नेपाल टेल संवाददाता

रास्वपा नेतृत्वको सरकारमा शक्तिशाली गृहमन्त्रालय पाएका सुधन गुरुङ एक महिना नबित्दै बाहिरिनु परेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको दवावले उनलाई राजीनामा दिन बाध्य बनायो ।

गृहलाई सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय मानिन्छ । रास्वपा सरकारमा गृहमन्त्रीका रुपमा रास्वपा उपसभापति डिपी अर्यालदेखि बालेनका विश्वासपात्र सुनील लम्सालसम्मको चर्चा थियो । तर, सबैलाई आश्चर्यचकित बनाउँदै सुधन गुरुङले गृहमन्त्री पड्काएका थिए । हाइप्रोफाइलहरुलाई पक्राउ गरेर थुन्न सक्ने हिम्मत भएका व्यक्तिको रुपमा बालेनले उनलाई रोजेको बताउने गरिन्छ ।



सुधनको सुरुवात पनि फिल्मी भएको थियो । गृहमन्त्रीको सपथ खाएलगत्तै हाइप्रोफाइलहरु पक्राउ गर्ने दौडधुपमा उनी लागे । सपथ खाएकै राति प्रहरी हेडक्वाटरमा गएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दवाव दिए । गृहमन्त्रीको दवावमा परेर प्रहरीले भोलिपल्ट बिहानै नेताहरुलाई उठायो ।

दुई हाइफ्रोइल नेताहरुलाई पक्राउ गर्न सफल भएपछि सुधन एकाएक हिरो भए । सामाजिक सञ्जालमा उनको हाइहाइ सुरु भयो । यसबाट हौसिएर उनले धमाधम नेतादेखि व्यापारीसम्ममा धरपकड अभियान चलाए । देशमा एक किसिमको पक्राउ आतंक नै सिर्जना भयो । तर, लहडवाजीमा गरिएको यो धरपकड अभियान अन्तत्वगत्वा असफलता उन्मूख बन्न थाल्यो ।

ओली र लेखक लगायत हाइप्रोफाइलहरुलाई अदालतले छोड्न आदेश दियो । त्यसपछि गुरुङले आफू अब कानून पढ्ने र तयारीसहित पक्राउ गर्ने प्रतिक्रिया दिए । तर, कानून पढिनसक्दै गुरुङ आफैं विवादमा मुछिए । उनले देखाएको सम्पत्ति विवरणले मानिसहरु आश्चर्यमा परेका थिए नै, आफैले पक्राउ गर्न लगाएको व्यवयायी दिपक भट्टको कम्पनीमा साझेदार भेटिएपछि उनीमाथि गम्भीर प्रश्नहरु उत्पन्न भए । राजीनामाको चौतर्फी दवाव बढ्यो । यद्यपि, उनी राजीनामा नदिने अडानमा थिए ।

गृहमन्त्री गुरुङ अझै पनि ठूला नेता र व्यापारीका फाइल खोल्न चाहन्थे । हिजो उनले राति अबेरसम्म प्रहरी महानिरिक्षक दानबहादुर कार्कीसँग छलफल गरे र पक्राउ गर्न सकिने पात्रहरुको विषयमा चासो राखेका थिए । आफूलाई राजीनामाको दवाव नरहेको र पद नछाड्ने उनले बताएका थिए । छलफलपछि प्रफुल्लित चेहरामा राति ११ बजे निस्किएका उनले सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिन चाहेका थिएनन् ।

तर, आज अचानक नयाँ ट्विस्ट आयो । गृहमन्त्री गुरुङ राजीनामा दिन वाध्य भएका छन् । उनी प्रधानमन्त्री शाह सिंहदरबारमा भेटेलगत्तै फेसबुकबाट राजीनामाको घोषणा गरेका हुन् । यससँगै नेपाली राजनीतिमा अचानक शक्तिशाली भएर उदाएका सुधनको मन्त्रीपद क्षणभंगुर बनेको छ ।

जेनजी आन्दोलनबाट चिनिएका हुन् सुधन । त्योभन्दा अघि उनको कहाँ के गर्थे कसैलाई थाहा थिएन । जेनजी आन्दोलनको अगूवाका रुपमा प्रचारित भएपछि उनी एकाएक हाइलाइटमा आए । जंगीअड्डादेखि प्रधानमन्त्री कार्यालयसम्म यत्रतत्र उनी छाए । सुशीला कार्कीको सरकारका मन्त्रीहरुसमेत उनीसँग थुरुरु हुन्थे । गृहमन्त्री पदमा आएपछि त उनलाई वैधानिक शक्ति नै प्राप्त भइहाल्यो ।

गृहमन्त्री मुछिएको विवाद त्यति ठूलो भने थिएन । उनले विवादित व्यक्तिसँगको व्यवसायीक साझेदारी र आफ्नो सम्पत्तिको स्रोत राम्ररी स्पष्ट गर्न नसकेको मात्र हो । 0६२/0६३ यता उच्च सार्वजनिक ओहदामा रहेकाहरुको सम्पत्ति छानबिन लागि गठित आयोगले उनको पनि सम्पत्ति छानविन गर्न सक्थ्यो । तर, यसअघि श्रममन्त्री दिपक साहलाई प्रश्न उठ्नासाथ प्रधानमन्त्रीले बर्खास्त गरेको दृष्टान्तले गर्दा उनीमाथि दवाव पर्नगयो । अन्ततः सरकार बनेको एक महिना नपुग्दै दुई मन्त्री बाहिरिएका छन् ।

गृहमन्त्रालय भएपश्चात् उनको क्रियाशीलता भने लोभलाग्दो थियो दिनरात नभनि उनी यत्रतत्र दौडिरहेका थिए । काम गर्ने हुटहुटी देखाएका पनि थिए । तर, उनको शैली भने निकै अपरिपक्व रह्यो । खासमा उनी व्यक्तित्व, अनुभव र योग्यता कुनै पनि यहािबले यो पदका लागि तयार भइसकेका थिएनन् ।

गुरुङको बहिर्गमनसँगै गृहमन्त्रालय खाली भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले अर्को गृहमन्त्री खोज्न कसरत गर्नेछन् ।