भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल प्रवेश अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उनीहरु नेपाल प्रवेश गरेका हुन् ।
बुधबार राति ८५८ जना नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
अहिले प्रवेश गरेका उनीहरुमध्ये ३४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५११ जनालाई भने बुधवार राति नै सम्बन्धित जिल्लाको स्थानीय निकायको जिम्मामा पठाएको उनले बताए । २५ जिल्लाका नागरिक बुधवार नेपाल प्रवेश गरेका हुन् । बाँकी रहेका व्यतिलाई आज पठाउने काम भइरहेको उनले बताए ।
भारतबाट नेपाली आउने क्रम जारी रहेको र भारतको पलियास्थित क्वारेन्टाइनमा अझै १३ सय जना रहेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भारतवाट आउने नेपाली नागरिकलाई बास र गाडीबाट सम्बन्धित स्थानीय तहमा पठाउन समस्या भइरहेको बताए ।
बुधवार प्रवेश गरेका नेपाली नागरिकलाई आरडिटी किट नभएका कारण उनीहरुको स्वास्थ्य परीक्षण गर्न नसकिएको उनले वताए । सामान्य गनको माध्यमबाट परीक्षण गरि नेपाल प्रवेश गराएको उनले बताए ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा आरडिटी र पिसिआर विधिवाट हाल सम्म २३ हजार ३९१ जनामा कोभिड १९ को जाँच गरिएको छ । हालसम्म सो प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबै निको भएर घर फर्किसकेका छन् । -रातोपाटी