नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन : प्रधानमन्त्री बालेन

  • प्रकाशित मिति : २०८३ जेष्ठ १२, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू) तथा सदस्य राष्ट्रका राजदूत र काठमाडौंमा रहेका अन्य कूटनीतिक नियोग प्रमुखहरूसँग भएको संयुक्त भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्।



प्रधानमन्त्री शाहले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै सरकार लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र स्पष्ट तथा अनुमानयोग्य नीति प्रणालीप्रति प्रतिबद्ध रहेको बताए। उनका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उनले वर्तमान परिस्थितिको गम्भीरता बुझेर सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गरे।

उनका अनुसार सरकारले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्य राखेको छ। शाहले सुशासन र समावेशी आर्थिक वृद्धिलाई प्राथमिकता दिँदै विश्व बजारसँग जोडिन, लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अपनाइरहेको उल्लेख गर्दै छिमेकी र विकास साझेदारहरूसँगको सम्बन्ध आपसी सम्मान र साझा समृद्धिमा आधारित रहने बताए। उनले नेपालका विकास साझेदारहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद पनि दिए।

त्यस्तै, व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न सरकार सक्रिय रहेको उनले बताए। विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले समाधानका लागि संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भेटमा ईयू तथा अन्य देशका राजदूतहरूले नेपालमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई बधाई दिएका थिए। उनीहरूले विभिन्न क्षेत्रमा सहकार्य र लगानी विस्तार गर्न तयार रहेको पनि बताएका छन्।