सरकारले आज पनि सुकुम्बासी बस्ती र अतिक्रमित जग्गामा बनेका संरचना खाली गर्ने अभियान जारी राखेको छ ।
थापाथली, गैरीगाउँ र मनोहराको सुकुम्बासी बस्ती खाली गरेको सरकारले शुक्रबारदेखि दोस्रो चरणको अभियान सुरु गरेको थियो ।
सो अभियानअन्तर्गत आज धाबीखोला मिचेर बनाइएको साततले घरमा डोजर चलेको छ । तर पुरा घर नभत्काइ डोजर फर्काइयो ।
घर भत्काउन दुईवटा डोजर ल्याइएको थियो । तर, घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको हो । साततले घरको पाँच तल्लासम्म डोजरले ठुँगेको छ । बाँकी घर घरधनी आफैंले भत्काउनुपर्ने वा नपर्ने बारे केही बताइएको छैन ।
घरको अगाडि भागले सरकारी जग्गा छोएको भन्दै भत्काइएको हो । घरधनीले जग्गाको लालपूर्जा, घरको नक्सापास र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेका थिए ।
ठूलो संख्यामा प्रहरीको तैनाथीमा काठमाडौं महानगरले आइतबार बिहानबाट भवनमा डोजर चलाएको हो ।