वर्षा गराउने प्रणाली सुदूरपश्चिमबाट पूर्वतर्फ सर्दै

  • प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार
  • नेपाल टेल संवाददाता

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिमबाट पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण थप वर्षा र सम्भावित क्षतिबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल सुदूरपश्चिमका पहाड र तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ भने उक्त प्रणाली लुम्बिनी प्रदेशतर्फ सर्दै गएको छ। आज दिनभर देशका धेरै स्थानमा बादल लाग्ने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।



सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र असिनाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्का अनुसार यो साताभर देशका विभिन्न भागमा वर्षा जारी रहनेछ, विशेषगरी तराई क्षेत्रमा मंगलबारसम्म मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।