चोरीको मोटरसाइकलले ठक्कर दिँदा युवती गम्भीर, फरार युवक पक्राउ

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मधेश प्रदेश ०३–०२७ प ५७५५ नम्बरको मोटरसाइकलले पैदलयात्री २० वर्षिया सुनिता कुमारीलाई ठक्कर दिएको हो । दुर्घटनापछि चालक मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए ।



प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी ३१ वर्षिय रमेश कुमार पटेलको रहेको खुलेको थियो । सो मोटरसाइकल घटनाकै दिन बिहान पर्साको नगवा चौकबाट चोरी भएको भन्दै प्रहरीमा निवेदन समेत परेको थियो ।

प्रहरीले प्राविधिक तथा सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै फरार रहेका बारा सिम्रौनगढ नगरपालिका–३ निवासी २२ वर्षिय जाकिर अन्सारीलाई घटनाको तीन दिनपछि पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार अन्सारीमाथि सवारी अंगभंग तथा चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।