हर्क साम्पाङको प्रश्न, ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ?’

  • प्रकाशित मिति : २०८३ बैशाख २९, मंगलवार
  • नेपाल टेल संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषय उठाउँदै सरकारको नेतृत्वप्रति प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने बताए। “यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो,” उनले भने।

साम्पाङले सांसदका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने टिप्पणी पनि गरे। “प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?” उनले प्रश्न गरे।



उनले वर्तमान अवस्थामा जनता सरकारसँग डराएर बाँच्न बाध्य भएको दाबी गर्दै सरकार जनताको जीउधन र सीमा सुरक्षा गर्न असफल भएको आरोप लगाए। “जनताको जीउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?” उनले भने।

साम्पाङले सीमा क्षेत्रमा भइरहेको निर्माण गतिविधिबारे पनि सरकारसँग स्पष्ट जवाफ माग गरे। “सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरेको हो वा आफूखुसी गरिरहेको हो ? उदाहरणका रूपमा महाकालीको तटमा पारिपट्टि भइरहेको निर्माणलाई देख्न सक्छौं,” उनले भने।