नेपालमा तरकारी खेतीको क्षेत्रफल विस्तार भए पनि बीउमा भने अझै उच्च परनिर्भरता रहेको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार तरकारी बीउको ठूलो हिस्सा आयातमा निर्भर रहनुपरेको छ।
सर्वेक्षणका अनुसार देशभर ३ लाख ३२ हजार १३० हेक्टरमा तरकारी खेतीका लागि वार्षिक करिब २ हजार ९८० टन बीउ आवश्यक पर्छ, जसको केवल २३.५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्ने गरेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म सरकारीस्तरबाट विभिन्न मौसमी तरकारीका करिब २५ लाख बेर्ना उत्पादन भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ४३ लाख ५ हजार बेर्ना उत्पादन भएकोमा यस वर्ष करिब ४० लाख पुग्ने अनुमान गरिएको छ।
त्यस्तै, सरकारी फार्म केन्द्रहरूमा फागुनसम्म ९६९ किलोग्राम तरकारी बीउ उत्पादन भएको छ। गत वर्ष २ हजार ५०७ केजी बीउ उत्पादन भएकोमा चालु वर्ष करिब २ हजार ५८७ केजी पुग्ने अनुमान छ।
नेपालमा तरकारी उत्पादन विस्तार भए पनि बीउमा आत्मनिर्भरता कमजोर रहेको सर्वेक्षणले देखाएको छ।