नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसले ल्याएको अवसर स्वास्थ्य मन्त्रालयले निराश बनाएको अवस्थामा शिक्षा मन्त्रालयले झन् निराश बनाएको बताएका छन ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बाेल्दै थापाले कोरोना भाइरसले ल्याएको अवसर स्वास्थ्य मन्त्रालयले निराश बनाएको अवस्थामा शिक्षा मन्त्रालयले झन् निराश बनाएको बताएका हुन ।
मन्त्रालयको विनियोजन र कार्यक्रममाथि मन्त्री गिरिराजमणि पोखरेल नै असन्तुष्ट रहेको भन्दै थापाले भने, ‘मन्त्री आफै गनगन गरेर हिँडिराख्नुभएको छ- अर्थमन्त्रीले मेरो कुरा सुनिदिनुभएन, भनेर । हामीले शिक्षामन्त्रीलाई भनेर के अर्थ ? उहाँ आफैं दुखी हुनुहुन्छ । आफैं पीडित हुनुहुन्छ ।’
गत वर्ष ५ अर्ब बजेट छुट्याएको ठाउँमा यो कार्यक्रमका लागि यो वर्ष ६ अर्ब रुपैयाँ छुट्याइएको छ । बैठकमा खर्च कटौती प्रस्ताव राख्दै थापाले यो संघीयता र संविधान विरोधी कार्यक्रम भएको बताए ।
‘माननीय शिक्षामन्त्री ज्यूलाई सम्माननीय राष्ट्रपति ज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो ?’ उनले भने, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मन लाग्दा पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी छ, संविधान विरोधी छ, व्यवस्था विरोधी छ ।’