नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३२, आईतवार
  • नेपाल टेल संवाददाता

नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय ती पुरुषको स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन्। तर प्रयास गर्दागर्दै पनि उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।



शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको छ। भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला ती पुरुषमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो।

यसअघि पनि गुल्मीमा कोरोना संक्रमणबाट एक शिक्षकको मृत्यु भएको थियो।