कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडकाे बजेट (पूर्णपाठसहित)

  • प्रकाशित मिति : २०७७ असार १, सोमबार
  • nepaltale.com

कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको कजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।

कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख (९ प्रतिशत) रुपैंया बजेट विनियोजन गरेको हो ।

सोमबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट ३० करोड ६ लाख ५३ हजार रुपैंया, यो वर्ष खर्च नभइ बाँकी रहेको ११ अर्ब १९ करोड ९ लाख ८५ हजार रुपैंया, संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ३९ करोड ५६ लाख रुपैंया, वित्तीय समानीकरणबापत प्राप्त हुने ९ अर्ब ६३ करोड २९ लाख रुपैंया तथा सशर्त अनुदानतर्फ प्राप्त हुने ४ अर्ब ४९ करोड ११ लाख रुपैंयालाई प्रोतको रुपमा देखिाइएको छ । त्यस्तै, समपूरक अनुदानतर्फ २५ करोड २५ लाख र विशेष अनुदान ४६ करोड रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशले ल्याएको यो बजेट अघिल्लो वर्षको बजेटभन्दा केही सानो आकारको हो । अघिल्लो वर्ष अर्ब सो प्रदेशले ३५ करोडको बजेट ल्याएको थियो ।

उक्त बजेटले स्वास्थ्य क्षेत्रमा बाहेक खासै नयाँ केही कार्यक्रम ल्याएको छैन भने ठूला परियोजनाहरुमा लगानी गर्ने योजना बनाएको पनि छैन । कोभिड–१९ को व्यवस्थापन, राहत, उद्दार र केही रणनीतिक महत्वका परियोजनाहरु यसमा समाबेश छन् । त्यसबाहेक रोजगारी अभिवृद्धि गर्ने क्षेत्रमा बजेट बढी केन्द्रित गरिएको छ ।

प्रदेश सरकारले बजेटमार्फत् कोभिड–१९ बाट मृत्यु हुनेलाई १÷१ लाख राहत दिने घोषणा गरेको छ । त्यस्तै, प्रदेश अस्पतालमा २०० शैयाको आइशोलेसन कक्ष, ४० वटा आईसीयु र २० वटा भेन्टिलेटर तथा हरेक जिल्ला अस्पतालमा ५० आइसोलेन बेड, १० आईसीयू र ५ भेन्टिलेटर कक्षको निर्माण गर्ने घोषणा गरेको छ ।

त्यस्तै, स्वास्थ्य सेवालाई सहज तुल्याउन स्वास्थ्यकर्मीलाई १०० प्रतिशत र सुरक्षाकर्मी लगायत अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिएको छ ।

शिक्षातर्फ भर्चुअल शिक्षासम्बन्धी पूर्वाधार निर्माण गर्न ११ करोड रुपैंया विनियोजन गरिएको छ । त्यस्तै, विदेशबाट फर्किने जनसंख्या बढ्दै जाँदा खाद्य संकट सिर्जना हुनसक्ने भन्दै त्यसका लागि ५० करोड रुपैंया विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा समेत गरिएको छ ।

यो वर्ष सुर्खेत विमानस्थलको स्तारोन्नतिका लागि प्रदेश सरकारले ५० करोड विनियोजन गरिएको छ । त्यस्तै, प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडक स्तरोन्नति गर्न लोकप्रिय जनता सडक कार्यक्रममा १ अर्ब ४२ करोड विनियोजन गरिएको छ । स्थानीय तहको केन्द्रसम्म सडक पुर्याउन सम्बन्धित स्थानीय तहलाई थप बजेट दिने बताइएको छ ।

प्रदेशले चालु आर्थिक वर्षका कुल बजेटमध्ये १५अर्ब ९३ करोड ६७ लाख १९ हजार रुपैंया मात्रै खर्च हुने अनुमान गरेको छ । यो करिब ४६.४० प्रतिशत हो । राजश्वतर्फ भने २९ करोड रुपैंया उठ्ने अनुमान गरिएको छ । यो लक्ष्यको ८३.५ प्रतिशत हो ।

पुर्णपाठ हेर्न क्लिक गर्नुहोस्