पश्चिम रुकुम हत्याकाण्डबारे नवराज विककी प्रेमिकाले दिइन् यस्तो बयान

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरण बारे मृतक नवराज विककी प्रेमीकाले बुबा र दाइले हत्या गरेको बयान दिएकी छिन्।

उनले आफू घरको कोठामा टीभी हेरेर बसेकाले नवराज आएको थाहा नपाएको पनि बताएकी छन्।



उनले आफू घरबाट बाहिर निस्किँदा गाउँका महिलाहरु जम्मा भए पछि मात्रै नवराजहरुलाई नदेखेको बताएकी छन् । आफू घटनास्थल नगएको पनि उनले उल्लेख गरेकी छिन्।

उनले बयानमा भनेकी छिन्, ‘साँझ डिल्ली मल्ल घरमा आएर दुईजना केटाहरु भेरी नदीमा बगेको कुरा आमासँग गरेपछि मात्र घटनाबारे थाहा पाएको हुँ’, उनले भनेकी छन्, ‘भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनेँ ।’

उनले बयानमा बुबा, दाइ समेतले नवराजलाई लखेट्दै घेरा हालेर कुटपिट गरेर मारेको पूर्ण विश्वास भएको बताएकी छिन्।

युवतीका बुबाले भने नवराजको समूहका एक जनालाई प्रेमबहादुर ठकुरी लगायतले नियन्त्रणमा लिएर कुटपिट गरेका बयान दिएका छन्। नवराजसहित अन्यलाई सन्तोष मल्ल, मोहन पुन मगर, विनोद मल्ल, विष्णु मल्ल, टोपबहादुर मल्ल, युवतीका दाइ, डम्बर मल्ल लगायतले पछाडिबाट ढुंगाले हानेर भेरी नदीमा मारेको युवतीका बुबाले स्वीकार गरेका छन्।

गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले सामूहिक हत्या प्रकरणमा नवराज विककी प्रेमीकाको बयान सार्वजनिक गरेको हो।

वडाध्यक्षको संलग्नता रहेको देखाएको छ। घटनाको छानविन गर्न गृह मन्त्रालयका सह(सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष डम्बरबहादुर मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ।