राष्ट्रियसभाबाट नयाँ नक्सा अनुमोदन, दीप प्रज्वलन गर्न सरकारको आग्रह

  • प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि अनुमोदन भएको छ।

प्रतिनिधिसभाबाट पारित भएको संविधान संशोधन विधेयक–२०७७ राष्ट्रियसभामा ५७ मतका साथ पारित भएको हो ।



कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको विधेयकको विपक्षमा भने कुनै पनि मत परेन। ५९ सदस्यीय राष्ट्रियसभामा ५७ उपस्थित भएका थिए।

कानून मन्त्री तुम्बाहाङ्फेले राष्ट्रियसभाबाटै संविधान संशोधन भएको खुशियालीमा दीप प्रज्वलनका लागि सर्वसाधरणमा आग्रह गरेकी छन्।

३० जेठमै प्रतिनिधिसभाबाट संविधान संशोधन भइसकेकाले अब प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइनेछ। लिम्पियाधुरा सहितको भूगोल समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संविधान संशोधन गरिएको हो।

अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट विधेयक स्वीकृत भएपछि नेपालको नयाँ निशान छाप कार्यान्वयनमा आउनेछ।