काठमाडौंसहित घनाबस्तीमा संक्रमण बढ्दै, अत्यावश्यकविना बाहिर ननिस्कनूः स्वास्थ्य मन्त्रालय

  • प्रकाशित मिति : २०७७ असार १५, सोमबार
  • nepaltale.com

काठमाडौं। काठमाडौं उपत्यका लगायत घनाबस्तीमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले विना काम घरबाट बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाजस्ता घनाबस्ती भएका शहरमा अत्यावश्यक काम भए मात्रै घरबाट निस्कन अनुरोध गरेका हुन्।

साथै उनले घरबाट बाहिर निस्किन परेमा दुई मिटरको दूरी कायम गर्न र अनिवार्य मास्क समेत प्रयोग गर्न सुझाएका छन्।

काठमाडौं उपत्यकाजस्ता घना बस्ती भएको शहरमा कोरोनाभाइरसको संक्रमण वृद्धि भएकोले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न, साबुन पानीले मिचिमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट ननिस्कन, वृद्धवृद्धालाई थप सुरक्षामा राख्न मन्त्रालय हार्दिक हपिल गर्दछ’ प्रवक्ता गौतमले भने।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा आठ जना संक्रमित थपिएका छन् भने नेपालभर चार सय ७६ संक्रमित थपिएका छन्।