काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पार्टीमा मोर्चाबन्दी भएपछि सडक आन्दोलन चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने बाटो रोजेका हुन्।
बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले प्रदर्शनलाई काठमाडौँमा मात्र सीमित नगरी देशव्यापी बनाउन निर्देशन दिएको श्रोतले बताएको छ ।
स्थायी समितिमा आफूविरुद्ध मोर्चाबन्दी भए पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पछि नहट्ने अडान लिएका छन् । तर दाहाल नेपाल समूहले ओलीलाई जसरी पनि राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका छन् ।
हालै प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको र नेपालका नेताहरुले पनि उक्त षडयन्त्रमा साथ दिइरहेको बताएपछि नेकपामा विवाद चुलिएको हो । आफूहरुलाई ओलीले भारतीय एजेन्टको आरोप लगाएको भन्दै स्थायी समिति बैठकमा नेताहरुले उनको राजीनामा मागेका हुन् ।
विवादले चर्को रुप लिएपछि पार्टी फुटको संघारमा पुगेको छ । दाहाल नेपाल समूहको बैठकमा ओलीलाई हटाउन खोज्दा पार्टी फुटको संघारमा पनि पुग्न सक्नेबारे लामो बहस चलेको थियो ।