काठमाडौं। नेकपाभित्रको चर्किएको आन्तरिक कलहले विस्फोटक रुप लिएपछि एकताको अन्तिम प्रयास स्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार निर्णायक वार्ता हुँदैछ। वार्ताअघि दुवै पक्षबाट आन्तरिक परामर्श तथा तयारी भइरहेको छ।
दुई अध्यक्षबीचको यही निर्णायक वार्तापछि पार्टीभित्रको कहल वारपारको अवस्थामा जाने बताइएको छ। सहमति भएर एक भएर अघि बढ्ने संभावना पनि बाँकी छ भने पार्टी विभाजन हुने जोखिम पनि छ।पार्टी एकतालाई बचाउन युवा नेताहरु क्रियशाली भएका छन् र दुवै पक्षका शीर्ष नेताहरुसँग भेट्ने र सम्झाउने काम भइरहेको छ।
स्थायी समितिका एक सदस्यले भने कुनै चमात्कार भएन भने स्थिति गम्भीर रहेको संकेत गरे। उनले भने, ‘एकताको प्रयास र पहल कार्यकर्ता तहदेखि नै भइरहेको छ। दबाब पनि छ। तर शीर्ष तहमा त्यो गम्भीरता देखिएन। अब धेरै ढिला भइसकेजस्तो छ।’
ओलीले ‘प्रचण्ड’ सँग भेट गर्नुअघि आफ्ना समूहका नेताहरुसँग आइतबार बिहान परामर्श गरेका छन्।प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा ओलीनिकट मन्त्रीहरु इश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत सहभागी छन्।
प्रधानमन्त्रीले शनिबार अपरान्ह मन्त्रीहरुलाई बालुवाटार बोलाएर आफ्नो लाइन क्लियर गर्न र आफूलाई साथ नदिने मन्त्रीहरुलाई बाहिरिन आग्रह गरेपछि आन्तरिक विवादले थप गम्भीर मोड लिएको हो। ओलीले राष्ट्रपतिलाई समेम महाअभियोग लगाउने तयारी भइरहेको प्रचार गरेपछि राष्ट्रपतिसमेत पार्टी विवादमा मुछिएकी छिन्। असन्तुष्ट पक्षले हुँदै नभएको विषय उचालेर राष्ट्रपतिलाई जबरजस्ती पार्टी झगडामा तानेको आरोप लगाएका छन्।
पार्टी संरचना र अंकगणितमा ओली कमजोर देखिएका छन्। संसद अधिवेशन अन्त्य गरेर संसदमार्फत आफूविरुद्ध हुनसक्ने कदमबाट ओली जोगिन खोजेका छन्। बाहिरको आलोचना र पार्टीभित्रबाट घेराबन्दीमा परेका ओलीले राष्ट्रपतिलाई समेत प्रभावमा लिएर केही कदम चाल्नसक्ने अनुमान र आशंका गरिएका छन्।