काठमाडौं। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका छन्।
असार १७ गते राति (बुधबार) ओली र देउवाबिच प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा कुराकानी भएको थियो। उक्त भेटघाटपछि देउवाले आफ्नो निवासमा विश्वासिला नेताहरुसँगको कुराकानीमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले ओलीले पार्टी विभाजन गर्ने निष्कर्षमा पुगेको आफूले पाएको बताएका हुन्।
दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको सार्वजनिक गरिए पनि डेढ घण्टासम्म पार्टी विभाजनपछि कसरी अघि बढ्ने भन्ने भावी राजनीतिक रोडम्यापबारे पनि कुराकानी भएको विश्वस्त स्रोतले जानकारी दियो।
स्रोतका अनुसार नेकपा विभाजनपछि सरकारमा सहभागी हुन ओलीले देउवालाई आग्रह गरेका छन्। जवाफमा देउवाले ‘त्यसका लागि आफू तयार रहेको’ बताएका छन्। ओली देउवाबिचको उक्त सहमति भएको सूचना नेकपा अरु शीर्ष नेताहरुले पाएसँगै उनीहरु थप शसंकित बनेका छन्।