ओलीसँगको भेटबारे देउवासँग जवाफ मागिने – कांग्रेस

  • प्रकाशित मिति : २०७७ असार २१, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आजको बैठकमा आसार १७ गते प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे बैठकमा जानकारी मागिने छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री ओलीसँगको छलफलबारे सभापतिसँग जानकारी माग्ने मनसाय बनाएको छ ।



वरिष्ठ नेता पौडेलले भने, ‘यस विषयमा सभापतिजीले जानकारी दिनुनै हुन्छ होला । कुरा उठी पनि हाल्छ ।’ नेकपा विभाजनको संघारमा पुगेका बेला ओली र देउवाबीचको छलफललाई संशयका साथ हेरिएको छ । यस्तै ओली निकट नेताहरुले बजेट अधिवेशन अन्त्यको निर्णय देउवासँगको परामर्शपछि लिएको दाबी गरिरहेका छन् । यद्यपि यस विषयमा काँग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी काँग्रेससँग कुनै परामर्श नगरिएको जानकारी दिएका थिए ।

कोरोना, सलह, बाढी पहिरो सृजित चुनौति सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएकोमा काँग्रेस विरोध जनाएको थियो ।

यसबारे पनि आजको बैठकमा छलफल हुने शर्माले जानकारी दिए । यस्तै बैठकमा सरकार जनताको जीवनको रक्षा गर्नेबेला सत्ताको खेलमा रुमलिएको विषयमा गम्भीर छलफल गरिने उनले जानकारी दिए ।