काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी वेपत्ता भएकाहरुको खोजिमा लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, बझाङलगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको, परिवारमा समवेदना व्यक्त गरेका छन्।
साथै बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुटन अपिल पनि गरेका हुन्।
उनले लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु।’
सिन्धुपाल्चोकमा गएराति आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही घर बगेका छन् भने दुई जनाको शव भेटिएको छ। १८ जना वेपत्ता भएका छन्।