काठमाडौँ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ ।
राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताउनुभएकाे हाे । उहाँले नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी दिनुभएकाे छ ।
भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन । यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् ।
भारतले नेपाली भूमिमा तिब्बतको कैलास मानसरोबर जाने सडक निर्माण गरेपछि त्यसको पृष्ठभूमिमा नेपालले जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।