बन्दाबन्दीका बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ।
अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरावासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो।
आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो। अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ । यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि रु एक हजार जरिवाना गराउन थालिएको छ । हालसम्म जरिवानाबाट रु ७० हजार राजश्व जम्मा भएको पनि उहाँले सुनाउनुभयो।
नगर क्षेत्रबाट काठमाडौँ बाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ।