काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्विस बैँकमा पैसा भएको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री सचिवालयले यसबारे ध्यानाकर्षण जनाएको छ।
ग्लोबल वाच एनालाइसिसलाई हवाला गर्दै केही सञ्चारमाध्यमले स्वीस बैंकको खातामा प्रधानमन्त्री ओलीको ५.५ मिलियन अमेरिकी डलर जम्माभएको समाचार प्रकाशन गरेका थिए। उक्त समाचार भ्रामक, गलत, गैरजिम्मेवारीपूर्ण र चरित्रहत्या गर्न लक्षित रहेको सचिवालयले जनाएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै सचिवालले भनेको छ, ‘ग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ। स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु।’
जनतालाई यस्ता दुष्प्रचारको भ्रममा नपर्न पनि सचिवालयले आग्रह गरेको छ।
यस्तो छ विज्ञप्ति
“ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ ।
स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ।
राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।
आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।
सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७