सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, लाख नजिक !

  • प्रकाशित मिति : २०७७ श्रावण १२, सोमबार
  • nepaltale.com

काठमाडौं। सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात १२ सय १० रुपैयाँ पुगेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।